काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आजदेखि ५ दिनका लागि चीन भ्रमणमा जानुभएको हो । चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसनको) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्समा जानुभएको हो । सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आर्जु राणा देउवा लगायतले बिदाई गर्नुभएको थियो । भ्रमण दलमा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा उठाउने एजेन्डाका विषयमा मन्त्रीहरूसँग छलफल गर्नुभएको थियो सांघाई सहयोग संगठन, सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक हो। चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्।
नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ।










प्रतिक्रिया