काठमाडौं, ७ कात्तिक । प्रेमीसँग विवाह गर्न परिवारले अस्वीकार गरेपछि भारतको उत्तर प्रदेशमा एक १८ वर्षीया युवती मोबाइल टावरमा चढेकी छन् । शुक्रबार बिहान भएको घटनामा दुवै परिवार विवाहका लागि सहमत भएपछि मुम्बईमा रहेका प्रेमीसँग भिडियो कलमार्फत उनको निकाह सम्पन्न गरिएको छ ।
मोतीपुर थाना क्षेत्रकी साइदा नामकी युवती सोही गाउँका २१ वर्षीय नुरुद्दिनसँग प्रेम सम्बन्धमा थिइन् । नुरुद्दिन रोजगारीका क्रममा मुम्बईमा छन् । सामाजिक तथा समुदायगत भिन्नताका कारण दुवै पक्षका परिवार विवाहको विपक्षमा थिए ।
परिवारले विवाहका लागि सहमति नदिएपछि साइदा शुक्रबार बिहान करिब ६ बजे गाउँकै मोबाइल टावरमा चढेकी थिइन् । घटनाबारे जानकारी पाएपछि प्रहरी, छिमेकी र गाउँले घटनास्थल पुगेका थिए । उनीहरूले युवतीलाई तल ओर्लिन आग्रह गरे पनि उनले विवाह नगरी नओर्लिने अडान राखेकी थिइन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दुवै पक्षका अभिभावकलाई राखेर छलफल गराएको थियो । करिब चार घण्टाको प्रयासपछि दुवै परिवार विवाहका लागि सहमत भए । त्यसपछि काजीलाई बोलाएर मुम्बईमा रहेका नुरुद्दिनसँग भिडियो कलमार्फत अनलाइन निकाह सम्पन्न गराइएको थियो ।
विवाह सम्पन्न भएपछि बिहान १० बजे साइदा सुरक्षित रूपमा टावरबाट तल ओर्लिएकी थिइन् । मोतीपुर थानाका प्रहरी निरीक्षक ब्रह्मा गोन्डका अनुसार युवतीको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीयको सहयोगमा घटनाको समाधान गरिएको थियो ।
स्रोत : अन्नपूर्ण पोस्ट












प्रतिक्रिया