काठमाडौं, ७ कात्तिक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आरोप, चरित्रहत्या र अपुष्ट सूचनाका आधारमा अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले हालै जारी गरेको सर्कुलरमा सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा प्रयोग गर्न र पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।
पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहले पार्टीको आधिकारिक डिजिटल सञ्चार माध्यम व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ । अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि भनिएको छ ।
सर्कुलरमा सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी उपयोग गर्न, तथ्यहीन तथा भ्रमपूर्ण सूचनाको तथ्यगत रूपमा खण्डन गर्न र पार्टीका आधिकारिक सामग्री एकरूपता तथा विश्वसनीयताका साथ सम्प्रेषण गर्न निर्देशन दिइएको छ । पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्याउने जिम्मेवारीबोध गर्न सदस्यहरूलाई आग्रह गरिएको छ ।
अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिअनुसार सञ्चालन गर्न पनि पार्टीले निर्देशन दिएको छ । व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना र तथ्यहीन प्रचारबाट बच्दै जनताको विश्वास, सम्मान तथा गोपनीयता कायम राख्न सर्कुलरमा भनिएको छ ।
त्यस्तै, अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने काम नगर्न, पार्टीको आधिकारिक निर्णय तथा निर्देशनबाहेक संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन निर्देशन दिइएको छ ।
महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र पार्टीको नीति, विधान तथा संगठनात्मक अनुशासनविपरीतका गतिविधिबारे सम्बन्धित तहलाई जानकारी गराउन पनि नेता तथा कार्यकर्तालाई भनिएको छ ।












प्रतिक्रिया