फ्रान्समा पुनः देशव्यापी प्रदर्शन, ७० हजार सुरक्षाकर्मी परिचालनको तयारी

काठमाडौं, ७ कात्तिक । महँगी र बढ्दो जीवनयापन खर्चविरुद्ध फ्रान्समा शनिबार पुनः देशव्यापी प्रदर्शन हुँदै छ । गत साता भएका हिंसा र लुटपाटका घटनालाई ध्यानमा राख्दै सरकारले सम्भावित हिंसा नियन्त्रणका लागि करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

प्रदर्शन नियन्त्रणका लागि २० वटा बख्तरबन्द सवारीसाधन र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधनसमेत परिचालन गरिने जनाइएको छ ।

गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । त्यसक्रममा पसलमा तोडफोड र लुटपाट हुनुका साथै सवारीसाधनमा आगजनी भएको थियो । हालसम्म दुई हजार ७०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । गत सप्ताहान्तमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको र व्यवसायीले करोडौँ डलर बराबरको आर्थिक नोक्सानी व्यहोरेको जनाएका छन् ।

हिंसाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सहरमा रात्रिकालीन कर्फ्यु र भेला हुन प्रतिबन्ध लगाइएको छ । पेरिसको लुभ्र संग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट–जर्मेन र लियोनबीचको फुटबल खेल स्थगित गरिएको छ ।

पेरिसमा कर्फ्यु सोमबारसम्म बढाइएको छ । मार्सेई र लियोनमा शनिबार भेला हुन रोक लगाइएको छ भने बोर्दो, नीस र उत्तरी फ्रान्सका विभिन्न सहरमा पनि कर्फ्यु जारी छ । केही क्षेत्रमा बालबालिका तथा किशोरकिशोरीलाई राति बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

विद्यालयको दयनीय अवस्थालाई लिएर सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सेवासुविधामा गरिएको कटौतीविरुद्ध फैलिएको छ । राष्ट्रपति इम्यानुएल माक्रोंले शुक्रबार छात्र संगठनका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो । प्रदर्शन सुरु भएयता छात्र संगठनका प्रतिनिधिसँग उहाँको यो पहिलो प्रत्यक्ष भेट हो ।

माक्रोंले यसअघि सप्ताहान्तमा मजदुर संगठनका प्रदर्शनलाई मात्र अनुमति दिने बताउनुभएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख छात्र संगठन यूएनईएफले प्रतिबन्धका बाबजुद शनिबार र्‍याली निकाल्ने घोषणा गरेको छ । संगठनले सरकारले प्रदर्शन गर्ने अधिकार खोस्न खोजेको आरोप लगाएको छ ।

वामपन्थी दल ‘फ्रान्स अनबाउड’का नेता जाँ–लुक मेलँसोंले प्रदर्शनमाथिको प्रतिबन्धको आलोचना गर्नुभएको छ । उहाँले सरकार र प्रहरीको कार्यशैलीले परिस्थिति थप बिगारेको आरोप लगाउनुभएको छ ।

यसअघि पेरिसमा सुपरमार्केट, विद्युतीय सामग्रीका पसल, बैंक र महँगा ब्रान्डका बिक्रीकक्षमा तोडफोड तथा लुटपाट भएको थियो । प्रदर्शनकारीले सवारीसाधनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका र सार्वजनिक पूर्वाधारमा क्षति पुर्‍याएका थिए । मध्य फ्रान्सको लिमोज सहरस्थित १९औँ शताब्दीको ऐतिहासिक नगर भवनमा समेत क्षति पुगेको थियो ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । छात्र संगठन र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले शनिबार पुनः प्रदर्शन गर्ने तयारी गरेका छन् । मजदुर संगठनहरूले भने नोभेम्बर ५ मा आमहडताल गर्ने घोषणा गरेका छन् । हिंसा दोहोरिए अन्य क्षेत्रमा पनि कर्फ्यु लगाउन सकिने सरकारले चेतावनी दिएको छ ।

राष्ट्रपति माक्रोंले हिंसाका लागि कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्नलाई जिम्मेवार ठहर गर्नुभएको छ । प्रधानमन्त्री लेकोर्नुले पनि केही समूहले जानाजानी प्रहरी, सरकारी भवन र अन्य सम्पत्तिलाई निशाना बनाएको आरोप लगाउनुभएको छ ।

मुख्य विपक्षी दलकी नेतृ मरिन लेपेनले भने सरकार कानुनव्यवस्था कायम राख्न असफल भएको आरोप लगाउनुभएको छ । उहाँले हिंसाले लोकतन्त्रसमेत खतरामा पार्न सक्ने चेतावनी दिनुभएको छ ।

स्रोत : फ्रान्स २४

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १५ : ०२  बजे