बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

बाँके, ७ कात्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान दुई कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा प्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा प्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा पहिलो कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ । उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ । घाइते चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उहाँ डोटीको साविक मुदेगाउँ गाविस–७ का बासिन्दा हुनुहुन्छ ।

दोस्रो कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका कारण केहीबेर अवरुद्ध भएको सडक बिहान १०:१५ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १४ : ५४  बजे