सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ जना घाइते

काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो।

काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ। दुर्घटनामा घाइते हुनुभएका बैठाको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकललाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ।

त्यस्तै, मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा पृथ्वीराजमार्ग हुँदै डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  १६ : ३८  बजे