काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको स्रोतले जनाएको छ।
वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नाम पनि अनुसन्धानमा जोडिएको थियो। सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि प्रहरीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरेको थियो। उनीहरूमाथि इजरायल पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ। उक्त प्रकरणमा खड्काको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खड्का २०८२ पुसको अन्त्यमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेकी थिइन्। १५औँ महाधिवेशनमा रामेछापबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्।











प्रतिक्रिया