काठमाडौं, २३ असोज । काठमाडौंको बुढानीलकण्ठमा मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिइएको घरमा सुन प्रशोधन तथा तस्करीको सञ्जाल सञ्चालन भइरहेको खुलेको छ। प्रहरीले उक्त घरबाट २१ किलो ७५० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बिहान बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित घरबाट उनीहरूलाई पक्राउ गरेको हो। आवासीय प्रयोजनका लागि भाडामा लिइएको घरमा सुन गलाउने मेसिन, रसायन तथा प्रशोधनका उपकरणसमेत फेला परेका छन्।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू, बरामद सुन र प्रशोधनमा प्रयोग हुने उपकरण सार्वजनिक गरेको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार विशेष सूचनाका आधारमा केही समयदेखि उनीहरूमाथि निगरानी भइरहेको थियो। बिहीबार बिहान शङ्कास्पद गतिविधिसहित नेपाली नम्बर प्लेटको गाडीमा घरबाट बाहिर निस्कन खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।
प्रहरीका अनुसार बरामद सुनमध्ये १० किलो ९९७ ग्राम तयार पारिएका ११ वटा टुक्रामा र १० किलो ७५२ ग्राम प्लास्टिकमा राखिएको अर्धठोस अवस्थामा फेला परेको थियो। सुनको वास्तविक स्रोत र नेपाल भित्र्याइएको मार्गबारे भने अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा सुन धुलो वा अर्धठोस अवस्थामा नेपाल ल्याएर घरभित्रै प्रशोधन गरी सुनका बिस्कुट बनाउने गरिएको आशङ्का प्रहरीले गरेको छ। सुन हङकङबाट हवाई मार्ग हुँदै नेपाल ल्याइएको हुन सक्ने आशङ्का गरिए पनि त्यसको पुष्टि भइसकेको छैन।
घरधनी विदेशमा, भाडाको घरमा अवैध कारोबार
विदेशमा बस्ने नेपालीको घर भाडामा लिएर सुन प्रशोधन तथा कारोबार भइरहेको घटनाले निजी आवासको प्रयोग र भाडावालको गतिविधिमाथि निगरानीको विषय उठाएको छ।
मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिरेर लिइएको घरमा ठूलो परिमाणमा सुन, प्रशोधन उपकरण र रसायन फेला परे पनि घरधनीलाई यसबारे जानकारी थियो वा थिएन भन्ने खुलेको छैन। घरधनीको संलग्नता वा जानकारी रहेको निष्कर्ष प्रहरीले सार्वजनिक गरेको छैन।
त्यस्तै, सुन ओसारपसारमा प्रयोग गरिएको नेपाली नम्बर प्लेटको गाडी कसको नाममा दर्ता छ र सवारीधनी वा चालकलाई कारोबारबारे जानकारी थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानकै क्रममा छ।
कारोबारको सञ्जाल खोज्दै प्रहरी
प्रहरीले पक्राउ परेका तीनै जना चिनियाँ नागरिकसँग दोभासेको सहयोगमा सोधपुछ गर्ने प्रयास गरे पनि कारोबारको स्रोत, सम्पर्क सञ्जाल र गन्तव्यबारे पर्याप्त जानकारी प्राप्त हुन नसकेको जनाएको छ।
बरामद सुन कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी थियो र कारोबारमा नेपाली नागरिकको संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। आवश्यक परे चिनियाँ पक्षसँग समेत समन्वय गरिने प्रहरीले जनाएको छ।
सुनको वास्तविक स्रोत, सम्भावित अन्तरदेशीय सम्पर्क सञ्जाल तथा अन्य संलग्न व्यक्तिबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।











प्रतिक्रिया