चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहालमाथि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ ।

छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाउनुभएको छ । प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ ।

त्यसक्रममा निलम्बित एआईजी दाहालको बयानसमेत समावेश गरिएको छ । उहाँलाई विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे समेत सोधिएको छ ।

जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान भएको र कुराकानी हुने गरेको स्वीकार गरेपनि आचरणविपरीतको कुनै कार्य नगरेको जिकिर गर्नुभएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १३ : ०६  बजे