दुई महिनामै भूमि प्रशासन अधिकृतको सरुवा, सुशासनको नीतिमै प्रश्न

दुई महिनामै भूमि प्रशासन अधिकृतको सरुवा, फेरि ना.सु. नै कार्यालय प्रमुखको दौडमा

काठमाडौं, २२ असोज । सरकारले सार्वजनिक सेवा प्रवाहमा स्थिरता, प्रभावकारिता र सुशासन कायम गर्ने नीति अघि सार्दै आएको छ। तर अछामको भूमि प्रशासन कार्यालयमा भने कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको करिब दुई महिनामै भूमि प्रशासन अधिकृतको सरुवा भएपछि सरकारी नीति र व्यवहारबीचको तालमेलमाथि प्रश्न उठेको छ।

भूमि प्रशासन कार्यालय अछामका भूमि प्रशासन अधिकृत लिलाधर अवस्थीको भूमि प्रशासन कार्यालय धनगढीमा सरुवा भएपछि बिहीबार उहाँको बिदाइ गरिएको छ। अवस्थीले अछाममा करिब दुई महिनामात्र सेवा गर्नुभएको थियो।

छोटो समयमै कार्यालय प्रमुखको सरुवा हुँदा सेवाग्राहीसँग प्रत्यक्ष जोडिएको भूमि प्रशासनजस्तो कार्यालयमा प्रशासनिक निरन्तरता र सेवा प्रवाहमा यसको प्रभाव कस्तो पर्छ भन्ने प्रश्न उठेको छ। सरकारले ‘सुशासन’ र नागरिकलाई सहज तथा प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकतामा राख्दै आएको अवस्थामा कर्मचारी व्यवस्थापन र सरुवा प्रणाली पनि त्यसैअनुसार व्यवस्थित हुनुपर्ने देखिन्छ।

अवस्थीको सरुवापछि अछामको भूमि प्रशासन कार्यालयको नेतृत्व पुनः नायब सुब्बा तहकै कर्मचारीले सम्हाल्ने अवस्था बन्ने चर्चा छ। यसले अधिकृत तहको दरबन्दी तथा नेतृत्व व्यवस्थापनलाई सरकारले कसरी सम्बोधन गर्छ भन्ने प्रश्नसमेत उठाएको छ।

अवस्थीको बिदाइ कार्यक्रममा कर्मचारी संगम अछामका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख दिवस घिमिरेसहित विभिन्न कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो। घरेलु तथा साना उद्योग कार्यालय अछामका प्रमुख भीमबहादुर सिंह, जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा खम्म बोगटी, कम्प्युटर अपरेटर मोहन भट्टलगायत सहभागी हुनुभएको थियो।

यसै अवसरमा भूमि प्रशासन कार्यालय अछामका खरिदार पवन कुश्मीको पनि बिदाइ गरिएको छ। उहाँको अध्यागमन कार्यालय नेपालगञ्जमा सरुवा भएको हो। कुश्मीले निजामती सेवाको पहिलो यात्रा अछामबाट सुरु गरी करिब तीन वर्षसम्म अछाममा सेवा गर्नुभएको थियो।

बिदाइ कार्यक्रममा सहभागीहरूले अवस्थीको छोटो कार्यकालमा गर्नुभएको योगदान र कुश्मीले लामो समयसम्म अछाममा गर्नुभएको सेवाको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन भूमि प्रशासन कार्यालय अछामका सहायक कम्प्युटर अपरेटर विष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो।

नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिने सरकारको नीति कार्यान्वयन गर्न कर्मचारी सरुवा तथा कार्यालय नेतृत्व व्यवस्थापनमा स्थिरता कति आवश्यक छ भन्ने बहसबीच अछामको भूमि प्रशासन कार्यालयमा भएको छोटो अवधिको सरुवाले सुशासनको व्यवहारिक पक्षमाथि भने प्रश्न उठाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  २० : २१  बजे