काठमाडौं, ६असोज । २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी नागरिकको खोजी र उद्धार कार्य जारी छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले उद्धारका निम्ति आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरेको छ ।
भीषण बाढी आएको समयमा आयोजनामा प्रवर्द्धक कम्पनीसँगै परामर्शदाता ट्रयाक्टावेल तथा जेड कन्सल्ट, इन्जिनियरिङ, खरिद र निर्माण व्यवसायी कोरियन कम्पनी डुसान तथा उसबाट नियुक्त सिभिलतर्फको सबकन्ट्रयाक्टर पावर चाइना र इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रोलगायत कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अरू मुलुकका नागरिक समेत गरी करिब १४ सय ३३ जना आयोजनास्थलमा कार्यरत रहेको अवस्था थियो ।
उहाँहरूमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको । ७८ जना सम्पर्कमा आएका छन् । ३९ जना मृत भेटिए । ४३९ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले ट्रक नै पल्टाएको फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ र आयोजनाको टोलीको सहभागितामा संयुक्त खोजी तथा उद्धार कार्य सञ्चालन जारी छ । सुरुङभित्रसँगै बाहिरी सतह, भीर, गाउँ तथा अरू सम्भावित क्षेत्रमा समेत सुरक्षा निकाय र सम्बन्धित टोलीसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी छ ।
तालिमप्राप्त खोजी कुकुर, पर्वतारोही उद्धार टोली तथा अरू दक्ष जनशक्ति समेत परिचालन गरिएको छ । सुरुङहरू, भूमिगत विद्युत्गृह तथा अरू भौतिक संरचनामा व्यक्तिहरू फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भग्नावशेष र लेदो हटाउने, सम्भावित खोजी क्षेत्र पहिचान र उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
के काम भइरहेको छ माथिल्लो त्रिशूली–१ मा ?
आयोजनास्थलसम्म पुग्ने सडक बाढीले पूर्ण रूपमा क्षति पुर्याएकाले हेलिकोप्टरमार्फत दुई मिनि एस्काभेटर ढुवानी गरी उत्खनन, खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ । सुरुङभित्र जमेको भग्नावशेष हटाउने तथा फलामका रड काट्न आवश्यक पर्ने विद्युत्का निम्ति जेनेरेटर र ग्यास–कटिङ उपकरण हेलिकोप्टरमार्फत आयोजनास्थलमा ढुवानी गरी परिचालन गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाको मुख्य सुरुङ निर्माणका निम्ति बनाइएको पहुँच सुरुङ (अडिट)–३ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा भग्नावशेष एक्साभेटरको प्रयोग गरी हटाउने कार्य भइरहेको छ । प्राविधिक टोलीमार्फत आयोजनाको भूमिगत विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अरू सम्बन्धित संरचनाको अवस्था निरीक्षण र मूल्यांकन गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।
आयोजनास्थलबाट निकालिएका शवहरू सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर ल्याएर आफन्तलाई हस्तान्तरणको कार्य भइरहेको छ ।











प्रतिक्रिया