प्रतिनिधिसभाको बैठक बस्दै, चार संसदीय समितिको बैठक पनि आजै

काठमाडौं, ६ असोज । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, आज चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थसमितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग पनि छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा स्वदेशी, विदेशी, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर, लगानीको वातावरणमा परेको प्रभाव तथा राष्ट्रिय र प्रादेशिकस्तरमा हुने लगानी सम्मेलन व्यवस्थापनबारे छलफल गरिनेछ ।

यस्तै, उपयुक्त लगानी वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा पनि समितिले छलफल गर्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०७ : ३४  बजे