काठमाडौं, ४ असोज । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासी पूर्व र पश्चिमबाट गरी एक हजार ४३४ शव फेला परेको जनाएको छ । विवरणअनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव भेटिएका छन् ।
प्रहरीका अनुसार शव पहिचानका लागि मृतक र आफन्तको गरी तीन हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको छ । जसमा मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ नमुना छन् ।
हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य जारी छ ।











प्रतिक्रिया