काठमाडौं, १ असार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको अभिव्यक्तिमा नियन्त्रण र संयम अपनाउन आग्रह गर्नुभएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिन सडकखण्डको अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएपछि उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो।
स्थानीयवासीले बिजुलीका पोल नसारिँदा सडक निर्माणमा समस्या भएको गुनासो गरेपछि मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँचिदिनू’ भन्दै टिप्पणी गर्नुभएको थियो।
सो अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै शर्माले पछिल्ला दिनहरूमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट आएका विवादास्पद अभिव्यक्तिले समाजलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिएको घटना, सिरहामा परीक्षा हलमा भेटिएका मोबाइल नष्ट गरिएको विषय तथा मन्त्रीको पछिल्लो अभिव्यक्तिलाई जोड्दै समाज कुन दिशातर्फ गइरहेको छ भन्ने प्रश्न उठाउनुभयो।
सामाजिक सञ्जालमा लेख्दै शर्माले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भन्नुभएको छ, “यदि हामी कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माण गर्न चाहन्छौँ भने कम्तीमा मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्छ।”
उहाँले चुनावी अभियानका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा दिएका केही अभिव्यक्तिको पनि स्मरण गर्दै कानुनको शासनभन्दा बाहिर जाने कुनै पनि प्रवृत्ति स्वीकार्य नहुने धारणा राख्नुभयो।
मन्त्री लम्सालको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।








प्रतिक्रिया