काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारत भ्रमणका क्रममा सीमा र कालापानीको विषय नउठाएको भन्दै प्रश्न गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता आङ्देम्बेले भारत भ्रमणका क्रममा नेपाली भूमि र सीमा विवादका विषयमा मौन बसेको आरोप लगाउँदै लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो।
उहाँले सीमा र राष्ट्रिय हितका विषयमा सरकार तथा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै भारतमा रहँदा नेपालको सीमा समस्याबारे किन आवाज नउठाइएको भन्दै प्रश्न गर्नुभयो।
“दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “हामीलाई पनि थाहा छ, यस्ता विषय ढोल बजाएर समाधान हुँदैनन्। त्यसका आफ्नै कूटनीतिक प्रक्रिया र मापदण्ड हुन्छन्।”
आङ्देम्बेले राष्ट्रियता, सीमा र सार्वभौमिकताका विषयमा सबै राजनीतिक दल एकमत हुनुपर्ने धारणा व्यक्त गर्दै यस्ता संवेदनशील विषयमा दोहोरो मापदण्ड अपनाउन नहुने बताउनुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसदमा जारी विवादकै क्रममा कांग्रेस नेताले लामिछानेको भारत भ्रमण र सीमा मुद्दामा देखिएको मौनतामाथि प्रश्न उठाउनुभएको हो।
संसदमा राष्ट्रियता, सीमा र कालापानीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।








प्रतिक्रिया