जाँगर लागे काम गर्ने हो, नभए मन्त्रालयमै सुत्ने हो : मन्त्री महावीर पुन

काठमाडौं, २६ जेठ । नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै बसेर काम गर्ने बताउनुभएको छ। उहाँले सरकारले तत्काल सरकारी आवास (क्वार्टर) उपलब्ध नगराएपछि मन्त्रालयमै बस्ने र सुत्ने बताउनुभएको हो।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ठट्यौली शैलीमा आफ्नो कार्यशैली प्रस्तुत गर्नुभयो। “यहीँ सुत्ने हो, यहीँ बस्ने हो। सरकारले क्वार्टर दियो भने जाने हो। अहिले तुरुन्तै क्वार्टर दिने अवस्था पनि छैन,” उहाँले भन्नुभयो।

मन्त्री पुनले आफू काममा जाँगर चले मात्र सक्रिय हुने र जाँगर नचले केही समय विश्राम गर्ने शैलीमा काम गर्ने बताउनुभयो। उहाँका अनुसार पुनः ऊर्जा आएपछि उहाँ फेरि काममा फर्किनुहुनेछ।

उहाँले आफू लामो समय मन्त्री पदमा नबस्ने पनि स्पष्ट पार्नुभयो। “म बढीमा तीन वर्ष मात्र बस्छु। ५–६ वर्षको काम गर्ने जग बसालेर युवालाई जिम्मा दिन्छु,” उहाँले भन्नुभयो।

७० वर्षभन्दा माथिको उमेर भए पनि आफूलाई “३० वर्षको युवा जस्तो जोश–जाँगर” रहेको भन्दै उहाँले देश निर्माणको जिम्मा युवालाई नै दिनुपर्ने धारणा राख्नुभयो।

मन्त्री पुनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  २० : ५४  बजे