काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाह ले विभिन्न कालखण्डमा भएका आन्दोलन, प्रदर्शन तथा अन्य घटनासम्बन्धी नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदनहरूको एकमुष्ट अध्ययन गरिने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँलाई नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनका विषयमा प्रश्न गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्री शाहले नेपाल सरकारलाई हालसम्म बुझाइएका सबै प्रतिवेदनहरूको अध्ययन गरी आवश्यकताअनुसार कामकारबाही अगाडि बढाइने स्पष्ट पार्नुभयो ।
“आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदन मात्र नभई विभिन्न समयमा भएका आन्दोलन, र्याली तथा सार्वजनिक घटनासम्बन्धी अन्य प्रतिवेदनहरू पनि सरकारसमक्ष रहेको स्मरण गराउनुभयो ।
प्रधानमन्त्री शाहले ती प्रतिवेदनहरूको निष्कर्ष र सिफारिसका आधारमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाइने संकेत गर्नुभयो ।








प्रतिक्रिया