काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल ले सरकारले विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेर स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गरेको आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णयले आम नागरिकमाथि थप आर्थिक भार थोपरेको बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट जोगिन विगतमा सार्वजनिक बिदासमेत घोषणा गरिएको स्मरण गर्दै अहिले भने विद्युत् प्रयोग बढाउने नीतिको सट्टा कर लगाएर जनताको ढाड सेक्ने काम गरिएको टिप्पणी गर्नुभयो ।
नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उहाँले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप कर लगाउनु गलत कदम भएको बताउनुभयो ।
महासचिव पोखरेलले हरित ऊर्जाको प्रवर्द्धन गर्नुपर्ने अवस्थामा विद्युतीय सवारीसाधनको प्रयोगसमेत निरुत्साहित हुने गरी करको भार बढाइएको आरोप लगाउनुभयो ।
उहाँले बजेटको आकार बढाउन आयस्रोत देखाउने उद्देश्यले यस्तो निर्णय गरिएको भए सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने धारणा राख्नुभयो ।
सरकारले नाफासहित बिक्री गरिरहेको विद्युत्को खपत बढ्दा भ्याट लगाएर जनतालाई थप भार दिनेभन्दा आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा विद्युत्को अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले विद्युत् उपभोगमा लगाइएको भ्याट फिर्ता लिन, जनहितमा निर्णय गर्न तथा स्वदेशी ऊर्जाको सम्मान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया