बुटवल, १६ जेठ । नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले बार एशोसिएशनले सधैँ प्रतिपक्षको भूमिकामा रहेर राज्यका गतिविधिमाथि निगरानी गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार बुटवलमा आयोजित उच्च अदालत बार एशोसिएशन बुटवलको ३२औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले कानुन व्यवसायीहरूले कानुनको दायराभित्र रहेर न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बार एशोसिएशनले सरकारका कामकारबाही, नीतिगत निर्णय तथा राज्यका गतिविधिहरूको निरन्तर निगरानी गरी लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपाल ले बहुमतको आडमा सरकारले गर्ने गलत कामप्रति नेपाल बार एशोसिएशनले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएकाले यसको संरक्षणमा बारको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाको अवसरमा ‘लुम्बिनी न्याय दर्पण’ तथा वरिष्ठ अधिवक्ता स्वर्गीय नेत्रबहादुर नेपाल स्मृति विशेषाङ्कको विमोचन पनि गरिएको थियो ।
नेपाल बार एशोसिएशन रुपन्देहीका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले स्वर्गीय नेपालले न्याय क्षेत्रप्रति पुर्याउनुभएको योगदानको सम्मानस्वरूप विशेषाङ्क प्रकाशन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्ट, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद पोखरेल तथा केन्द्रीय सदस्य इन्दिरा आचार्यलगायत वक्ताहरूले वर्तमान परिस्थितिमा बार एशोसिएशनको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताउनुभएको थियो ।








प्रतिक्रिया