गणतन्त्र दिवस आज, टुँडीखेल समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं, १५ जेठ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । समारोहअघि नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

यस वर्ष भने अघिल्ला वर्षहरूभन्दा फरक रूपमा प्रधानमन्त्री बालेन शाह ले टुँडीखेल समारोहलाई सम्बोधन नगर्ने बताइएको छ । अघिल्ला वर्षहरूमा राष्ट्रपतिसँगै प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने परम्परा रहेको थियो ।

प्रधानमन्त्रीले गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपति नै भएकाले उहाँबाट मात्रै सम्बोधन गरिनुपर्ने धारणा राख्दै शीतल निवासमा पत्र पठाएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ समारोहमा सहभागी भने हुनुहुनेछ ।

वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले शासन सत्ता आफ्नो हातमा लिएपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । त्यसपछि सुरु भएको जनआन्दोलनले व्यापक रूप लिँदै लाखौँ नागरिक सडकमा उत्रिएका थिए ।

जनआन्दोलनको दबाबपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसपछि सम्पन्न पहिलो संविधानसभा निर्वाचनमार्फत २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई विधिवत् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

त्यसयता नेपालको राजनीतिक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा सञ्चालन हुँदै आएको छ । संविधानसभाले डा. रामवरण यादव लाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बन्नुभएको थियो भने हाल रामचन्द्र पौडेल राष्ट्रप्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  ०७ : १३  बजे