एमालेले बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन गर्‍यो

काठमाडौं, १० जेठ । नेकपा (एमाले) ले उपाध्यक्ष रामबहादुर थापा को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको छ।

अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा आइतबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। करिब १० घण्टा चलेको बैठक राति अबेर सम्पन्न भएको थियो।

बैठकमा नेताहरूले संगठनात्मक अवस्था, कार्यविभाजन, पार्टी पुनर्गठन, नेतृत्व शैली तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल गरेका थिए।

एमालेका उपमहासचिव लेखराज भट्ट का अनुसार बैठकमा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र पार्टी सुधारका विषयमा गहन समीक्षा गरिएको थियो।

बैठकमा विभिन्न नेताहरूले पार्टी नेतृत्व, कार्यशैली र संगठन सञ्चालनबारे आ–आफ्ना धारणा राखेका थिए। अन्त्यमा अध्यक्ष ओलीले उठेका प्रश्न र सुझावमाथि जवाफ दिनुभएको बताइएको छ।

एमालेले गठन गरेको कार्यदलले हालैका निर्वाचन परिणाम, संगठनात्मक अवस्था तथा पार्टी पुनर्गठनका विषयमा सुझावसहितको प्रतिवेदन तयार पार्ने जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  २१ : ५८  बजे