सभामुख–चिनियाँ राजदूत भेट: सहकार्य विस्तारमा जोड

काठमाडौं, १५ वैशाख । तिनिधिसभाका सभामुख डीपी अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सभामुख सचिवालयका अनुसार भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो।

उहाँले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीनको सहयोग अपेक्षित रहेको बताउनुभयो। साथै, सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो।

सभामुख अर्यालले सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू तथा मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्नुभयो। उहाँले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति र कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै Belt and Road Initiative कार्यान्वयनमा गति दिनुपर्ने धारणा राख्नुभयो।

यस्तै, विश्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाल शान्ति, संवाद र सहकार्यको पक्षमा रहेको उहाँले बताउनुभयो।

राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्त्वपूर्ण अवसरका रूपमा लिँदै चीनको राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको जानकारी दिनुभयो। उहाँले नेपाल–चीन सम्बन्ध आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो।

उहाँले चीनले नेपाललाई महत्त्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, ताइवान र तिब्बतसम्बन्धी नेपालको नीति निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

राजदूत माओमिङले नयाँ सरकारका सुधार, सुशासन र आर्थिक विकासका प्रयास सकारात्मक रहेको बताउँदै युवा नेतृत्वले नेपालमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। साथै, प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान तथा अनुभव साझेदारी आवश्यक रहेको उल्लेख गर्दै सभामुख तथा सांसदहरूलाई चीन भ्रमणको निम्ता दिनुभएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  १९ : २१  बजे