कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाउनुभएको छ।

उक्त बैठकमा समूहका शीर्ष नेताहरू, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ।

नेताहरूका अनुसार बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने तय भएको छ। यसअघि वैशाख ६ गते सोही स्थानमा सम्पन्न भेलाले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आउनुभएको छ। उहाँले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। तर अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो।

यसैबीच, उहाँका गतिविधिलाई संस्थापन पक्षले अनुशासनविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको थियो। तर खड्काले सो स्पष्टीकरण नबुझाएको जनाइएको छ।

उता सभापति गगन थापा स्वयं वैशाख ६ गते गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गर्नुभएको थियो। यद्यपि, दुई नेताबीच भएको छलफलको विषयवस्तुबारे हालसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०८ : १२  बजे