काठमाडौं, १४ वैशाख । सुकुम्वासी बस्ती हटाउने क्रममा घरटहरा भत्काइएपछि विस्थापितहरूको पीडामा झरीले थप मार परेको छ। गैरीगाउँ–सिनामंगल क्षेत्रमा डोजर चलाइएको केहीबेरमै परेको वर्षाले बाहिर राखिएका सरसामान भिज्दा सुकुम्वासीहरू विचल्लीमा परेका हुन्।
अतिक्रमित बस्ती खाली गराइएपछि खुला चौरमा राखिएका खाद्यान्न, ओड्ने–ओछ्याउने लुगाकपडा र दैनिक उपभोगका सामग्री वर्षाले भिजाएको छ। सुरक्षित राख्ने ठाउँ नहुँदा कतिपय सुकुम्वासी आफ्नै सामानसँगै खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
स्थानीयका अनुसार धेरैजसो मानिसहरू अन्यत्र सरे पनि आर्थिक अभावका कारण कतिपय अझै त्यहीँ बसिरहेका छन्। डेरा नपाएका र सामान सार्न नसक्नेहरू झनै समस्यामा परेका छन्।
शनिबारदेखि साना सवारीमार्फत सामान सार्ने प्रयास भए पनि अझै ठूलो परिमाणमा सामग्री स्थलमै थुप्रिएको छ। ती सामान कुर्न बसेका व्यक्तिहरू समेत वर्षामा भिज्न बाध्य भएको अवस्था छ।
पर्याप्त त्रिपाल, अस्थायी आश्रय र सुरक्षित भण्डारणको व्यवस्था नहुँदा विस्थापितहरूको अवस्था दयनीय बनेको छ। बस्ती हटाउने क्रममा वैकल्पिक व्यवस्थापन कमजोर हुँदा मानवीय संकट गहिरिँदै गएको भन्दै स्थानीय स्तरमा चिन्ता व्यक्त हुन थालेको छ।








प्रतिक्रिया