काठमाडौं, १४ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ, जसलाई पार्टीको संगठनात्मक पुनर्संरचना र आगामी कार्यदिशा निर्धारणका लागि महत्वपूर्ण मानिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी बाँडफाँट तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिन सक्ने बताइएको छ। साथै चुनावी समीक्षा प्रतिवेदन अनुमोदन र संगठनात्मक संरचना टुंग्याउने विषय पनि एजेन्डामा रहेको छ।
सांगठनिक सन्तुलन कायम गर्न साविकका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच प्रदेश इन्चार्ज तथा सह–इन्चार्जको जिम्मेवारी बाँडफाँट गर्ने मापदण्ड तयार गरिएको छ। यसअनुसार एक पक्षले इन्चार्ज पाउने प्रदेशमा अर्को पक्षले सह–इन्चार्ज पाउने व्यवस्था गरिनेछ।
त्यस्तै, ३२ वटा विभागमा प्रमुख र उपप्रमुखको जिम्मेवारी पनि दुई पक्षबीच बाँडफाँट गरिने तयारी छ। बैठकले १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ।
तल्लो तहका संगठनहरू—पालिका र जिल्ला—मा एकता तथा समायोजनको जिम्मेवारी प्रदेशलाई दिने, जनवर्गीय संगठनहरूको एकता, सदस्यता नवीकरण तथा मापदण्ड निर्धारणका विषयमा पनि निर्णय हुन सक्नेछ।
यसका साथै, आगामी महाधिवेशनको कार्यतालिका तय गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डा रहेको छ। पार्टीले ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाइएको छ।
नेताहरूका अनुसार आजको बैठकले पार्टीको भावी दिशा र संगठनात्मक संरचना स्पष्ट पार्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया