सुकुमवासीको चित्कार: “एक प्याकेट खानाले पेट भरिँदैन”

काठमाडौं, १३ वैशाख । सुकुमवासी बस्ती हटाएर अस्थायी सेल्टरमा राखिएका विस्थापितहरूको अवस्था दयनीय बन्दै गएको छ। कीर्तिपुरमा राखिएका सुकुमवासीहरूले पर्याप्त खाना नपाएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।

थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई कीर्तिपुरस्थित अस्थायी शिविरमा राखिएको छ। तर, त्यहाँको व्यवस्थापन अत्यन्त कमजोर देखिएको गुनासो बढ्दै गएको छ। महानगरपालिकाले वितरण गरेको प्याकेट खाना र सामान्य नास्ताले उनीहरूको दैनिक आवश्यकतासमेत धान्न नसकेको विस्थापितहरूको भनाइ छ।

“एक प्याकेट खानाले पेट भरिँदैन,” भन्दै सुकुमवासीहरूले आक्रोश व्यक्त गरेका छन्। कतिपयले बिहानको चिया–नास्तासमेत नपाएको दाबी गरेका छन्।

वर्षौंदेखि बसोबास गर्दै आएको बस्ती छाड्न बाध्य बनाइएका उनीहरू अहिले आधारभूत आवश्यकतामै संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन्। राज्यले बस्ती हटाउँदा विकल्पको व्यवस्था कमजोर बनाउँदा मानवीय संकट निम्तिएको भन्दै आलोचना भइरहेको छ।

सरकारले ‘स्क्रिनिङ’ गरी अस्थायी व्यवस्थापन गरेको दाबी गरे पनि स्थलमा देखिएको अव्यवस्था र अपर्याप्त सेवा वितरणले राज्यको तयारीमाथि गम्भीर प्रश्न उठाएको छ।

मनोहरा लगायत अन्य क्षेत्रबाट बस्ती हटाउने क्रम जारी रहँदा विस्थापितहरूको व्यवस्थापन, खाद्य सुरक्षा र सम्मानजनक पुनर्वास सुनिश्चित नगरे स्थिति अझ जटिल बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार  १८ : ५२  बजे