काठमाडौं, १० वैशाख । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा अन्तर्गत आज मंगलबजारबाट सुन्धारासम्म रथ तानिँदैछ । हिजो रातो मछिन्द्रनाथ र मिननाथको रथ गाबहालबाट मंगलबजारसम्म तानिएको थियो ।
वर्षा र सहकालका देवता मानिने मछिन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरूको भिड लाग्ने गरेको छ । पुलचोकमा शनिबार रथारोहण गरिएको रथलाई अस्ति मंगलबार त्यहाँबाट तानेर गाबहाल पुर्याइएको थियो ।
हिजो गाबहालका बासिन्दाहरूले ‘जात्रा’ मनाएका थिए भने आज मंगलबजारका बासिन्दाले जात्रा मनाइरहेका छन् । यस जात्रामा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका स्थानीयले उत्सवका रूपमा जात्रा भोज बनाएर खुवाउने परम्परा छ । परम्पराअनुसार आज दिनभरि मंगलबजारमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयबासीहरूको जात्रा सम्पन्न भएपछि दिउँसो रथलाई मंगलबजारबाट सुन्धाराका लागि तानिने कार्यक्रम छ ।
पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रामध्ये एक हो । काठमाण्डौ उपत्यकामा वर्षा गराउनको लागि मछिन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।







प्रतिक्रिया