महान्यायाधीवक्ता कँडेलविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं, १० वैशाख । सर्वोच्च अदालत मा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल को नियुक्तिविरुद्ध दायर रिट निवेदनहरूमा आज सुनुवाइ हुँदैछ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला का अनुसार कँडेलको नियुक्ति प्रक्रिया र योग्यतामाथि प्रश्न उठाउँदै तीनवटा रिट निवेदन दर्ता भएका छन्। ती रिट अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशी लगायतले दायर गर्नुभएको हो।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो संवेदनशील र उच्च संवैधानिक पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ। विशेषगरी, संविधानअनुसार यस्तो पदमा नियुक्त हुनका लागि आवश्यक अनुभव र योग्यता नपुगेको आरोप लगाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो। संवैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य व्यक्ति महान्यायाधिवक्ता बन्न सक्ने प्रावधान रहेको छ।

तर, रिट निवेदकहरूले निरन्तर १५ वर्ष कानुन व्यवसायमा सक्रिय संलग्नता आवश्यक पर्नेमा डा. कँडेलसँग त्यस्तो अनुभव अभाव रहेको जिकिर गरेका छन्।

यस विषयमा सर्वोच्च अदालतको आजको सुनुवाइले नियुक्तिको वैधानिकता र योग्यतासम्बन्धी विवादबारे प्रारम्भिक मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  ०७ : ३७  बजे