काठमाडौं, ८ वैशाख । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भनी परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी गलत सावित भएको छ। मन्त्रीको दाबी आएको एक साता बितिसक्दा पनि झा अझै इरानको बन्दर अब्बास जेलमै रहेको पुष्टि भएको छ।
परराष्ट्रमन्त्री खनालले १५ अप्रिलमा अमृत झा रिहा भइसकेको र उनलाई इरानबाट बाहिर ल्याउने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभएको थियो। तर, झाका परिवारका अनुसार उहाँले हालै फोनमार्फत आफू अझै जेलमै रहेको जानकारी दिनुभएको छ।
झाका भिनाजु राजेश झाका अनुसार मन्त्रीको दाबीपछि परिवार खुसी भए पनि पछि वास्तविकता थाहा पाएपछि थप तनावमा परेको छ। ‘रिहा हुनुभयो भन्ने खबरले हामी उत्साहित भयौं, तर उहाँले फोन गरेर आफू जेलमै रहेको बताउनुभयो,’ उहाँले बताउनुभयो।
अमृत झा हाल इरानको होर्मोज्गान प्रान्तस्थित बन्दर अब्बास जेलमा रहेको जानकारी परिवारलाई दिनुभएको छ। उक्त जेलमा विदेशी नागरिक तथा गम्भीर मुद्दाका अभियुक्तहरू राखिने गरिन्छ।
यस विषयमा परराष्ट्र मन्त्रालयले भने सूचना प्रवाहमा ‘मिसकम्युनिकेशन’ भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार स्थानीय अदालतबाट रिहाइको आदेश भए पनि प्रक्रिया अझै जारी रहेको छ।
इरानले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको जहाजमा सवार ७ जनामध्ये ४ जना रिहा भइसकेका छन् भने अमृत झासहित ३ जनाको रिहाइ प्रक्रिया अझै जारी रहेको मन्त्रालयले जनाएको छ।
अमृत झा सन् २०२४ जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका थिए र ‘अल लुलु मरिन सर्भिसेस एलएलसी’ को जहाजमा सीम्यानका रूपमा कार्यरत थिए। फारसी खाडी क्षेत्रमा सञ्चालनका क्रममा जहाजलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
परराष्ट्रमन्त्रीकै दाबी गलत सावित भएपछि सरकारको सूचना व्यवस्थापनमाथि प्रश्न उठेको छ भने परिवारमा अन्योल र चिन्ता थपिएको छ।







प्रतिक्रिया