गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग, रास्वपा सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, ३० चैत्र । गृहमन्त्री सुधन गुरुङ को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले प्रधानमन्त्री बालेन शाह को ध्यानाकर्षण गराएका छन्।

सोमबार बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको सामूहिक भेटका क्रममा रास्वपाका दुई सांसदले गृहमन्त्रीको कार्यशैली उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

स्रोतका अनुसार धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङ र काभ्रेपलाञ्चोक–१ बाट निर्वाचित सांसद मधुकुमार चौलागाईं ले गृहमन्त्री गुरुङ जिल्लामा एकाङ्की ढंगले पुगेको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो राख्नुभएको हो।

केही दिनअघि गृहमन्त्री गुरुङ धादिङ र काभ्रे पुगेर खानी क्षेत्रको अनुगमनमा जानुभएको थियो। तर, आफ्नै पार्टीका मन्त्री जिल्ला भ्रमणमा जाँदा स्थानीय सांसदहरूसँग समन्वय नगरेको र जनताका मुद्दा राख्ने अवसर नदिएको उनीहरूको भनाइ रहेको स्रोतले जनाएको छ।

भेटमा सांसदहरूले पार्टीभित्र समन्वयको अभावले सरकारको कामकारबाहीमाथि प्रश्न उठ्ने भन्दै कार्यशैली सुधार गर्न आग्रह गरेका थिए।

भेटमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाहले यस विषयमा तत्काल कुनै ठोस जवाफ दिनुभएको छैन।

यो घटनाले सत्तारूढ दलभित्रै कार्यशैली र समन्वयको विषयमा असन्तुष्टि बढ्दै गएको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  १८ : ०६  बजे