काठमाडौं, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले आमनागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उहाँले नागरिकले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तीव्र आकाङ्क्षा राखेका बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै चुनाव सम्पन्न हुनु सकारात्मक कदम भएको बताउनुभयो । भ्रष्टाचारको अन्त्य, विधिको शासन र दण्डहीनताको अन्त्यका लागि संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभयो । आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको भन्दै उहाँले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताउनुभयो ।
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिबद्ध रहने उहाँको विश्वास छ ।
संसद्को चुनावपछि संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्थाअन्तर्गत राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको चालू अधिवेशन आजै राति १२ बजेदेखि सकिँदैछ ।








प्रतिक्रिया