काठमाडौं, ७ कात्तिक । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णाली याक्सले ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरलाई अनुबन्ध गरेको औपचारिक जानकारी दिएको छ।
कर्णालीले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको जनाएको छ। मिलरको आगमनले टोलीको उपाधि जित्ने सम्भावना बलियो हुने र नेपालमा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने क्लबको विश्वास छ। यसअघि भारतीय क्रिकेटर शिखर धवनले पनि कर्णाली याक्सबाट खेलेका थिए।
मिलरले दक्षिण अफ्रिकाका लागि खेल्नुका साथै इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगजस्ता चर्चित फ्रेन्चाइज प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए।
मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। सन् २०१७ मा बंगलादेशविरुद्धको खेलमा उनले ३५ बलमै शतक पूरा गरेका थिए। उनले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको विवरणमा उल्लेख छ।
कर्णाली याक्सले यस संस्करणका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ।












प्रतिक्रिया