काठमाडौं, २७ चैत । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई प्रदान गर्नुभएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व रामजी यादवले सम्हाल्नुहुने भएको छ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुनुहुन्छ। उहाँहरूलाई आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहणपछि दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुहुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका दीपक शाह विवादमा परेपछि पदमुक्त हुनुभएको थियो। त्यस्तै उद्योग मन्त्रालयको जिम्मेवारी हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले स्वयं सम्हाल्दै आउनुभएको थियो।
सरकारले पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा लिएको जनाएको छ।








प्रतिक्रिया