काठमाडौं, २६ चैत्र । पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृहचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ । साँझ ७ः०८ बजे एक युवकले ती महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँतर्फ सडकपेटीमा उभिइरहनुभएको पोखरा–५, मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसीमाथि हतियार प्रहार भएको थियो । महिलामाथि एक्कासि हतियार प्रहार गरी युवक मोटरसाइकल चढी भागेको स्थानीयले बताएका छन् ।
केसीलाई तत्काल उद्धार गरी गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनामा संलग्नको खोजी भइरहेको बताउनुभयो ।
पर्यटन राजधानी पोखराको मुख्य बजार क्षेत्रमै दिनदहाडै भएको घटनाले सर्वसाधारण त्रसित भएका छन् । महानगर प्रमुख धनराज आचार्यले घटनाबाट आफू मर्माहत र स्तब्ध भएको जनाउँदै अपराधीलाई यथाशीघ्र कानुनी दायरा ल्याउन र सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।








प्रतिक्रिया