गणनास्थलसम्म मतपेटिका प्रहरीकै ढुवानी : गृहमन्त्री अर्याल

काठमाडौं, १५ फागुन । ओमप्रकाश अर्यालले मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने व्यवस्था स्पष्ट पार्नुभएको छ।

शुक्रबार विराटनगरमा सुरक्षा निकायहरूसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने जानकारी दिनुभयो। “अलमलमा पर्न जरुरी छैन। बाँकी काम मतदान अधिकृतले नै गर्ने हो, नेपाल प्रहरीको सहयोग लिएर। यसको ढाँचा नै निर्धारित छ,” उहाँले भन्नुभयो।

उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा तीन तहको हुनेछ: पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुनेछ। गृहमन्त्री अर्यालले मतपेटिका ढुवानी र सुरक्षाबारे कुनै भ्रम राख्न आवश्यक नरहेको र सबै काम स्थापित सुरक्षा मापदण्डअनुसार हुने पनि जानकारी दिनुभयो।

उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वयात्मक रूपमा काम भइरहेको बताउनुभयो। साथै कुनै पनि अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दाबी गर्दै वर्तमान सरकारले कानुनको पूर्ण पालना र कडाइका साथ कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो।

मन्त्री अर्यालले दण्डहीनताको अन्त्यलाई वर्तमान सरकारको प्रमुख लक्ष्य भएको र कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १७ : ५८  बजे