दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालत ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं ले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै उहाँलाई गैरकानुनी थुनामुक्त गर्न निर्देशन दिएको छ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चका सूचना अधिकारी एवं उपरजिष्ट्रार निराजन पाण्डेले अदालतको आदेशबारे जानकारी दिनुभएको छ।

यसअघि सोमबार न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश मेघराज पोखरेलको इजलासले निर्वाचन आयोग ले कारबाहीका लागि प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो। प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौं लाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको थियो।

प्रहरी परिसरले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको उल्लेख गरिएको थियो। सर्वोच्चको आदेशमा आयोगबाट अनुसन्धान तथा कारबाहीका लागि पठाइएको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन भनिएको थियो।

निर्वाचन आयोगको पत्रपछि प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १८ : ००  बजे