काठमाडौं, ११ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यसपटक अनुभव, संगठनको बल र नयाँ पुस्ताको उपस्थितिबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबीच केन्द्रित देखिएको छ। परम्परागत शक्ति सन्तुलनलाई चुनौती दिने रणनीतिसहित नयाँ दलसमेत आक्रामक चुनावी अभियानमा छन्। घरदैलो, टोलसभा र सामाजिक सञ्जालमार्फत उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्।
एमालेका तर्फबाट केन्द्रीय सदस्यसमेत रहेका सूर्यबहादुर थापा दोस्रो कार्यकालको लक्ष्यसहित मैदानमा हुनुहुन्छ। २०७९ सालमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका थापाले संगठनात्मक बललाई आफ्नो मुख्य आधार बनाउनु भएको छ। यद्यपि सहकारी प्रकरणको संसदीय छानबिन समितिको नेतृत्व गरेपछि उहाँ केही वृत्तबाट आलोचनाको घेरामा पनि पर्नुभएको छ।
कांग्रेसले पूर्व योजना आयोग उपाध्यक्ष तथा प्रशासकीय अनुभव सम्पन्न डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसम्म नेतृत्व सम्हालिसक्नुभएका पोखरेल पार्टी एकता र आफ्नो अनुभवलाई मुख्य आधार मानेर मतदातामाझ पुगिरहनुभएको छ।
नेकपाबाट पूर्व प्रदेशसभा सदस्य कृष्णध्वज खड्का मैदानमा हुनुहुन्छ। लुम्बिनी प्रदेशका पूर्व अर्थ तथा सहकारीमन्त्रीसमेत रहनुभएका खड्काले वाम मत एकीकरणले परिणाम फरक पार्न सक्ने दाबी गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३१ वर्षीय युवा सुशान्त वैदिकलाई अघि सारेको छ। अर्थशास्त्र पृष्ठभूमिका वैदिक प्रदेश सरकारका पूर्व अर्थ सल्लाहकारसमेत रहनुभएको अनुभव बोकेर चुनावी मैदानमा उत्रनुभएको हो।
राष्ट्रिय जनमोर्चाबाट तिलकबहादुर जिसी उम्मेदवार हुनुहुन्छ। कुनै समय प्रभावशाली उपस्थिति रहेको जनमोर्चा यसपटक पुनः आफ्नो आधार बलियो बनाउने रणनीतिमा छ।
यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अघिल्लो समानुपातिक मतपरिणाममा एमाले अग्रस्थानमा रहे पनि स्थानीय विश्लेषकहरूका अनुसार पुरानो मतगणित मात्रै निर्णायक नहुन सक्छ। उम्मेदवारको व्यक्तिगत छवि, दलगत एकता र मतदाताको बदलिँदो धारणा नै अन्तिम परिणामको निर्धारक बन्ने आँकलन गरिएको छ।









प्रतिक्रिया