काठमाडौं, २३ जेठ । सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवम् सहकार्य हुनुपर्ने बताउनुभएको छ । अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभएको हो ।
तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड छ । सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो ।
यस्तै कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पालिका र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सङ्घले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी हुनुहुन्छ । सम्मेलन भोलि सम्पन्न हुनेछ ।








प्रतिक्रिया