दमकमा भोलेन्टियर फोर्सको प्रदेश भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं, ११ फागुन ।  नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही भेलालाई सम्बोधन गर्ने र प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता समेत सहभागी हुने फोर्सका कोशी प्रदेश आयोजकले जनाएको हो । करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको दावी गरिएको छ।

झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने सोही सभा सोमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हो। सोही सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नुहुने भएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  १० : २७  बजे