काठमाडौं, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछाने फेरि जेल जाने निश्चित रहेको र उहाँलाई दिइने मत खेर जाने दाबी गर्नुभएको छ । रास्वपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएकी शर्माले संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
चितवन क्षेत्र नम्बर(२ का मतदातासँग अपिल गर्दै शर्माले भनिन्, ‘दुई-दुई पटक तपाईंहरूले ५० हजारभन्दा बढी मत दिएर रवि लामिछानेजीलाई जिताउनुभयो। एउटा विवादित व्यक्तिलाई पटक(पटक मतदान गर्दा तपाईंहरूको भोट खेर गइरहेको छ। यसपटक विचार पुर्याएर राम्रो व्यक्तिलाई अगाडि बढाउनुस्।’
उहाँले लामिछानेको कानुनी संकट अझै नसकिएको र उहाँब् फेरि जेल जाने अवस्था रहेको जिकिर गर्नुभयो । रास्वपाले अपनाएको प्राइमेरी इलेक्सन केवल नाटक मात्र भएको उहाँको आरोप थियो। ‘सुरुमा म जत्तिको स्वच्छ र निर्मल पार्टी होला कि भनेर म रास्वपाका लागेकी थिएँ,’ उहाँले भन्नुभयो, ‘तर पार्टीले ल्याएको नीति-नियम र प्राइमेरी इलेक्सन त केवल प्रचारप्रसारका लागि गरिएको एउटा नाटक मात्र रहेछ। यो सिद्धान्तमा हिँड्ने पार्टी होइन।’ संचारकर्मीले नेपाली कांग्रेसका सभापति गगन थापामाथि लाग्ने गरेका आरोपका बारेमा सोधेको प्रश्नमा उहाँले थापामाथि लागेका आरोपहरू केवल चर्चाका लागि मात्र भएको र उनी एक स्थापित ब्रान्ड भइसकेको टिप्पणी गर्नुभयो । आफू नेपाली कांग्रेसमा प्रवेश गरेपछि विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै शर्माले भन्नुभयो, ‘म एक मधेसी छोरी हुँ, जब म आफ्नै पार्टीभित्रका गलत गतिविधि विरुद्ध आवाज उठाउन सक्छु भने भोलिका दिनमा पार्टीलाई सुधार्न मेरो आवाज अझ बुलन्द हुनेछ।’
शर्माले गत बुधबार जनकपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।









प्रतिक्रिया