काठमाडौं, ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आफू नेतृत्वको सरकारले राम्रो काम गर्न थालेकै कारण देशभित्र र बाहिरका शक्तिले पटक–पटक हटाइदिएको टिप्पणी गर्नुभएको छ।
उहाँले सोमबार आफ्नो चुनावी क्षेत्र झापा–५ मा घरदैलो कार्यक्रमका क्रममा एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपरेको उल्लेख गर्नुभयो।
“अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन्। देशभक्तिको काम गर्नै दिँदैनन्। देशको हितमा, विकासका काम अघि बढाउन खोज्दा अवरोध गरिन्छ,” उहाँले भन्नुभयो, “विकास गर्न ठ्याक्क उभिएर हुँदैन, पाइला अगाडि सार्नुपर्छ। रेल सुरु गर्न खोजेँ, पानीजहाजमार्फत सम्बन्ध विस्तार गर्ने कुरा अघि बढाएँ, तर काम सुरु गर्नेबित्तिकै सरकार ढालिन्छ। फेरि सुरु गर्छु, फेरि भत्काउँछन्। त्यसैले एक कार्यकाल पूरा गर्न चारपटक प्रधानमन्त्री हुनुपर्यो।”
झापा–५ मा औद्योगिक क्षेत्र निर्माणको प्रयाससमेत विभिन्न शक्ति केन्द्रबाट अवरुद्ध भएको उहाँको दाबी थियो। दमकमा निर्माण गरिएको संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै उहाँले त्यसलाई भ्यूटावर नभई ‘बिजनेस कम्प्लेक्स’ भएको स्पष्ट पार्नुभयो।
“भ्यूटावर भन्छन्, तर त्यो वास्तवमा भ्यूटावर होइन। यो एउटा बिजनेस कम्प्लेक्स हो,” उहाँले भन्नुभयो, “नयाँ खालको आईटी हबका रूपमा विकास गर्ने सोचअनुसार अघि बढाइएको हो। यो कुनै एक व्यक्ति वा परिवारका लागि बनाइएको होइन, क्षेत्रको समग्र विकासका लागि बनाइएको हो।”
उहाँले विकासका दीर्घकालीन योजनालाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध नगर्न आग्रहसमेत गर्नुभयो।









प्रतिक्रिया