रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

काभ्रे, २७ माघ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिनुभयो ।उहाँका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो । सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो ।काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताउनुभयो ।सडकबाट खसेको बस नदीमा डुबेको थियो ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  १५ : ३२  बजे