यसिमा महत/काठमाडौं । जननेता मदन भण्डारीले बहुत गर्मजोशका साथ भन्नुभएको थियो ‘हामी हिजो पनि मृत्युदेखि डराएर कुनामा पसेका होइनौ’ उहाँले सोही सिलसिलामा भन्नु भएको थियो ‘साथीहरू भन्नुहुन्छ कतै चिली र इन्डोनेशियाजस्तो त हुने होइन ?’ उहाँ थप्नुहुन्छ,‘हामीले चिली र इन्डोनेशियाको इतिहास नजिकबाट हेरेका छौं ।’
जननेता भण्डारीले २०४६ सालको जनआन्दोलन सफल भएपछि पार्टी खुला गर्ने निर्णय गर्दैगर्दा यस्तो बताउनुभएको थियो । तर, आज २०८२ अर्थात सन् २०२५ मा सोही चिली र इन्डोनेशियालाई बिर्साउने खालको घटना नेपालमा भएको छ । ती देशमा जननिर्वाचित कम्युनिष्ट सरकार ढाल्न अमेरिकी डिजाइनमा सेना प्रत्यक्ष प्रयोग भएका थिए भने नेपालमा उही अमेरिकी डिजाइनमा अमेरिकी युथ काउन्सिल र बारबरा फाउन्डेशनद्वारा प्रशिक्षित जेन–जी प्रदर्शन ।
चिलीमा १९७० मा राष्ट्रपति निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेदवार साल्भाडोर एलेण्डे निर्वाचित भएका थिए । उहाँलाई मात्र तीन वर्षको अवधिमा १९७३ सेप्टेम्वर ११ मा जवर्जस्ती सत्ताच्युत गरियो । त्यति मात्र होइन त्यहाँको कम्युनिष्ट पार्टीलाई प्रतिवन्धित गरियो ।
धेरैजसो नेताहरू हिरासतमै मारिए, सयौं न्यायप्रेमी जनताको कत्लेआम गरियो । एलेण्डेको गल्ती के थियो भने उहाँ ३६ प्रतिशत मत ल्याएर विजयी हुनुभएको थियो र दोश्रो वर्षमै उहाँको लोकप्रियता बढेर ४६ प्रतिशत पुगेको थियो । उहाँले देश विकासका धेरै कार्यक्रम अघि बढाउनुभएको थियो । उहाँको प्रगतिशिल कार्यक्रमले तीन वर्षको अन्तरालमै गरिबी पाँच प्रतिशतले घटेको थियो ।
उहाँले सबैभन्दा गरिब रहेको ५० प्रतिशत जनसंख्याको हिस्सामा पारिएको १६ प्रतिशत भागलाई बढाएर १८ प्रतिशत पार्नुभएको थियो, केवल तीन वर्षमा । यस्तै अति विपन्न जनसंख्या ३० प्रतिशतबाट घटेर २५ प्रतिशत भएका थिए । इन्डोनेशियामा त एक सातामै १० लाखभन्दा बढी कम्युनिष्टलाई मारिएको थियो ।
जननिर्वाचित राष्ट्रपति सुकर्णोको निवासमा एक्कासी सेनाले हमला वोलेको थियो । सन् १९६५ मे ३० रातको अन्धकारमा सेनाका केही अधिकृत अपहरण भएको नाटक गरिएको थियो र त्यही बहानामा त्यसको दोष कम्युनिष्ट पार्टी (पिकेआई) माथि थोपर्दै सैनिक मेजर जनरल सुहार्तोले राष्ट्रपतिलगायत कम्युनिष्ट पार्टीमाथि धावा बोले अनि नरसंहार मच्चाए ।
नेपालमा जेन–जीको नाममा भएको सेप्टेम्वर ८ र ९ को त्यो वितण्डा त्यही चिली र इन्डोनेशियाको परिष्कृत रूप हो भन्दा अतिउक्ति हुँदैन । नेपालमा सबैभन्दा बढी लोकप्रियता एमालेको भएको लुकाउनु पर्ने विषय होइन । पटक–पटकको निर्वाचनले यो पुष्टी गरेकै कुरा हो । चिलीका साल्भाडोर एलेण्डेजस्तै लोकप्रियताको शिखरमा थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।
अनि त के चाहियो नेपालको आत्मस्वाभिमानका विरोधिलाई । ओली र एमालेको लोकप्रियताको ग्राफले आत्तिएका नेपाल विरोधिहरू भित्रभित्रै योजना बनाइरहेका थिए । जननेता मदन भण्डारीलाई त्रिसुलीमा खसाएर रमाइरहेका जुलिया चाङ् ब्लकका सन्ततीलाई यो लोकप्रियता पच्ने कुरा पनि भएन ।
होइन भने देश सखाप भयो भन्ने भाष्य निर्माण गर्दै नेपालविरुद्ध षड्यन्त्र गर्नेले नयाँ पुस्तालाई देशको विकास हेर्नै दिएनन् । विकास हेर्ने रुचि नै मारिदिएर केवल निरासा फैलाउनु उनीहरूको डिजाइन थियो भन्न हिचकिचाउनु पर्दैन । विश्व बैंकले नै गरको प्रक्षेपणअनुसार नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशत बढ्ने थियो ।
जुन जेन–जीका नाममा भएका वितण्डापछि घटेर ३ प्रतिशतभन्दा कम भएको छ । गरिबीको रेखामुनीको जनसंख्या आधाभन्दा कम भएको छ । विधुत उत्पादनमा क्रान्ति नै आएको, प्रतिव्यक्ति आम्दानी १५०० अमेरिकी डलरको हाराहारीमा पुगेको तथ्यांक दिमाग यसरी भुटियोकी हेर्ने दिइएन ।
नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको २०४६ सालको जनआन्दोलनले हो । २०४६ सम्म नेपालको कूल विधुत् उत्पादन ५०० मेघावाट मात्र थियो र अहिले ३५०० मेघावाट पुगेको छ । २०४७ सम्म गरिबीको रेखामुनिको जनसंख्या ४१.७६ प्रतिशत थियो अहिले २०.२७ प्रतिशतमा झरेको छ ।
प्रतिव्यक्ति आय २०४७ मा १८५.८ अमरिकी डलर थियो अहिले १५०० भएको छ । २०४७ सालसम्म राष्ट्रिय बजेट २० अर्व हाहारीको हुन्थ्यो अहिले २० खर्व हाराहारीको भएको छ । २०४७ सालसम्म कूल सडक सञ्जाल ८८५१ किलोमिटर थियो भने अहिले ३४ हजार २७२ किलोमिटर भएको छ ।
साक्षरता दर २०४७ सम्ममा ३९.६ प्रतिशत थियो अहिले ७६.२ प्रतिशत भएको छ । नेपालीको औषत आयु २०४६ सम्ममा ५४.८३ वर्ष थियो अहिले ७२.११ वर्ष भएको छ के यो विकास होइन ? भन्न त यसलाई २०४७ देखि २०८२ सम्मको ३७ वर्षमा यो के हो र ? भन्न सकिएला ।
तर हामीले २०५२ देखि २०६३ सालसम्म माओवादीले सञ्चालन गरेको कथित जनयुद्धलाई पनि हेक्का राख्नु पर्छ । जनयुद्धका नाममा सार्वजनिक भौतिक संरचनामा कति आगो लगाइयो १७ हजार त नेपाली नै मरे । सो समयमा विकास निर्माणका काम प्रायः ठप्प सरह भए । पछि शान्ति सम्झौतापछि त्यसकै पुनर्निमाणमा देशको ठूलो धनराशी खर्च भयो ।
लगभग १० वर्ष विकास निर्माण अवरुद्धजस्तै भए भने पछिल्ला दुई वर्ष राष्ट्रिय ढिकुटी (ढुकुटी) को अधिकांश रकम पुनर्निर्माणमा खर्चिनु पर्यो । त्यो १० वर्ष घटाउँदा २७ वर्ष हुन्छ, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको समयमा पनि विकास निर्माणले खास गति लिन सकेन सोसमेत घटाउँदा नेपालले प्राप्त गरेको यो उपलब्धि २५ वर्षको हुन्छ । यसरी हेर्दा यो उपलब्धि के चानचुने हो र ?
केपी ओली नेतृत्वको सरकार बन्यो कि– पहाडै खस्यो, नेपाल सिद्धिनै लाग्यो, खत्तमै भयो, बर्बादै भयो भन्ने कोकोहोलो मच्चाउने काम भयो । भएको चाँही, भारतीय नाकाबन्दीलाई नाकाबन्दीसमेत भन्न नसक्ने, डराएर खासखुस गर्ने कांग्रेसलगायतका विपक्षी दलहरूको अघिल्तिर बसेर संसदको रोष्टम होस वा बाहिर देशको प्रधानमन्त्रीले यो छिमेकीको नाकाबन्दी हो, नेपाल यसबाट झुक्दैन भन्ने सन्देश दिनुभयो केपी ओलीले ।
यो घोर अमानवीयता हो भन्ने संसारलाई सुनाउनुभयो । सधैं उसको गोडा मोल्न जाने, हजुर–हजुर भन्ने, उसको एक इशारामा यहाँ जे पनि गर्न तम्सिनेहरूले जिब्रो टोके । केपी ओलीले अझ अगाडी बढेर देश भौगोलिक रूपमा ठूलो–सानो हुन सक्छ, सार्वभौमिकता र स्वाभिमान ठूलो–सानो हुँदैन भन्ने कुरा सुनिने गरी बोल्न थाल्नुभयो । यस्तो कुरा ठालू पल्टेर कज्याएर खाइपाई आएकालाई सह्य हुने कुरा थिएन/भएन ।
अझ चीनसँग व्यापार तथा पारवहन सम्झौता गर्नु, चीनको समुद्रसम्म पहुँच पुर्याउन सम्झौता गर्नुले छिमेकीलाई आफ्नो पकड खुकुलो हुँदै गएको कुरा सह्य हुने कुरै भएन । त्यसमाथि चुच्चे नक्सा प्रकाशित गर्नु र संविधान संशोधन गरेर त्यसमा समावेश गर्नुले उसको रिसको पारो नतात्ने कुरै भएन ।
अझ चीनका राष्ट्रपतिलाई आफ्नो भूमिमा ल्याउने, पुटिन र सिसंगसंगै बसेर वान टु वान लामो वार्ता गर्नु झन ठूलो कुरा भयो । एकातिर तुइन विस्थापन, सुरुङ मार्ग, पेट्रोलियम उत्खनन, तामा खानी उत्खनन्को कुरा अघि बढाउँनुृहुन्छ । अर्कोतिर सडक, स्वास्थ्य संस्था, जस्ता भौतिक पूर्वाधार निरन्तर गरिएको छ । आर्थिक बृद्धिदर बढाएको बढाएकै देखिन्छ ।
विदेशी मुद्रा संचिती बढेर ऋण एकै दिनमा तिर्न सक्ने भएको छ । यस्तो नेपाल र नेपालीको शिर उच्च पार्दै नेपाल विकासको गतिमा दगुरेको सहन नसक्नेहरू आफ्नो गेम प्लानमा लागेका थिए । सेप्टेम्बर ८ र ९ त्यसैको सार्वजनिकीकरण मात्र हो । त्यसैले यो निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन होइन ।
यो देश बनाउने र विगार्ने वा जलाउनेबीच फरक छुट्याउने परीक्षा पनि हो । नेपालि जनताले छिनोफानो गर्नु पर्ने समय हो । जेन–जी प्रदर्शनमा देशका सम्पदा र सार्वजनिक सम्पति मात्र जलाइएन खासगरी एमालेका नेता, कार्यकर्ताको घर देशैभरी छानी–छानी जलाइयो । अहिले जलाउनेहरू पछ्याउँदै गाउँबस्ती पुगेका छन् ।
अझ केपी ओलीको सन्दर्भमा भन्नुपर्दा जलाउने मान्छे अझ ठूलो हुँकार भर्दै उहाँको घर आँगमै पुगेको छ । झापा–५ केपी ओली शर्मा ओलीको घर हो । त्यहाँका मानिसले उहाँको बालापनदेखि अहिलेको बुढ्यौलीसमेत देखेका छन् । झापाले ओली गोठालो भएदेखि प्रधानमन्त्री भएकोसम्म देखेको छ ।
मानिसको स्वभाव हुन्छ, आफ्नो परिवारको सदस्यले बाहिर अपराधै गरेर आए पनि घरकाले संरक्षण गर्छ । उसको पक्षमा पैरवी गर्छ । तर झापाको धर्तीमा हुर्केको एउटा मान्छेले अपराध होइन, देशको विकास गरेको छ, राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा झापा मात्र होइन देश चिनाएको छ भने झापालीले गर्व गर्नुपर्छ ।
निरपराध घरका मान्छेसंग जोरी खोज्दै आफ्नै घर–आँगनमा आएको पराईलाई सम्मान गर्ने हैन अगुल्टो लिएर लखेट्ने छन् भन्नेमा विश्वस्त हुन सकिन्छ । केपी ओलीको नेतृत्वमा नेपाल नेपालीको दह्रो एकता र आत्मविश्वासले जस्तोसुकै अफ्ठ्यारा/अवरोध छिचोल्न सकिन्छ भन्ने तथ्य भनिरहनु पर्दैन ।









प्रतिक्रिया