काठमाडौं, १० माघ । अघिल्ला चुनावमा राजनीतिक दल र उम्मेदवारहरू आफ्ना पार्टी र चुनाव चिन्ह अंकित झण्डा बोकेर मत माग्न निस्कने गर्थे। पार्टीको झण्डा, चुनाव चिन्ह, झोला, टोपी, टिसर्टदेखि घर–भित्तामा चिन्ह कोर्ने अभ्यास व्यापक थियो। तर पछिल्ला वर्षमा निर्वाचन आचारसंहिताले भित्ते लेखन, अत्यधिक प्रचार सामग्री र तडकभडकमा कडाइ गरेसँगै चुनावी प्रचारको शैली पनि बदलिँदै गएको छ।
हाल चुनाव चिन्हसहितको पार्टी झण्डा बोकेर प्रचार गर्न पाइने व्यवस्था कायमै रहे पनि पछिल्ला केही निर्वाचनयता राजनीतिक दल र उम्मेदवारहरूले राष्ट्रिय झण्डा प्रयोग गर्ने क्रम बढ्दै गएको देखिन्छ। चुनावी र्याली, आमसभा, घरदैलो कार्यक्रमदेखि सवारी साधनसम्म राष्ट्रिय झण्डा फहराउने प्रवृत्ति देखिएको छ। कतिपय स्थानमा पार्टी झण्डासँगै राष्ट्रिय झण्डा पनि प्रयोग गरिएको छ।
तर पछिल्लो समय राष्ट्रिय झण्डालाई गलबन्दी, पछ्यौरा वा कपडाजस्तै गरी शरीरमा बेरेर प्रचार गर्ने अभ्यास देखिन थालेपछि यसको मर्यादा उल्लंघन भएको भन्दै आलोचना सुरु भएको छ। काँध, पिठ्युँ र शरीरमा ओढेर राष्ट्रिय झण्डा प्रयोग गरिएको दृश्य सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएको छ।
यस विषयमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, ओढेर मत माग्ने जस्ता कार्य बर्जित छन्। राष्ट्रिय झण्डा कपडा होइन, यसको प्रयोग तुरुन्त रोक्नुपर्छ।”
आचार्यको यो टिप्पणीमा धेरै प्रयोगकर्ताले सहमति जनाउँदै राष्ट्रिय झण्डाको सम्मान र मर्यादा कायम राख्न आग्रह गरेका छन्। यद्यपि, चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोग गर्न पूर्ण रूपमा निषेध भने छैन।
निर्वाचन आयोगका अनुसार आमसभा, कोणसभा, घरदैलो वा र्यालीका क्रममा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने व्यवस्था छ। २०७६ मा संशोधन गरिएको राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि अनुसार राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी राजनीतिक गतिविधिमा समेत यसको प्रयोग गर्न सकिन्छ।
तर कार्यविधिले झण्डा प्रयोग गर्दा निश्चित मर्यादा पालना गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ। झण्डा उल्टो राख्न नपाइने, व्यापारिक विज्ञापनमा प्रयोग गर्न नपाइने, कम्मरभन्दा तल झण्डा वा त्यसको प्रतीक प्रयोग गर्न नपाइने र चन्द्रमा तल पर्ने गरी झण्डा राख्न नपाइने प्रावधान छ।
त्यसैगरी सरकारी कार्यालयमा बिहान सम्मान सलामीसहित झण्डा फहराउने र साँझ झार्ने चलन छ। उच्च ओहोदाका व्यक्तिहरू चढ्ने सवारी साधनमा फहराइने झण्डा पनि ती व्यक्ति गाडीबाट ओर्लिएपछि ढाक्नुपर्ने व्यवस्था छ।
कानुनविद्हरूका अनुसार राष्ट्रिय झण्डालाई कपडाजस्तै शरीरमा ओढ्नु वा पिठ्युँमा बेर्नु झण्डाको मर्यादा विपरीत मानिन्छ। त्यसैले चुनावी प्रचारका क्रममा राष्ट्रिय झण्डा प्रयोग गर्दा कानुनी सीमा र सम्मानजनक अभ्यासमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
सामाजिक सञ्जालमा धेरैले “राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन, यो इतिहास, बलिदान र राज्यको पहिचान हो” भन्दै राजनीतिक दल र उम्मेदवारलाई संयमित र मर्यादित प्रयोग गर्न आग्रह गरेका छन्।
चुनावी प्रतिस्पर्धामा राष्ट्रवाद प्रदर्शन गर्ने होड बढ्दै गए पनि, राष्ट्रिय झण्डाको प्रयोग कानुन, मर्यादा र सम्मानको दायराभित्रै सीमित हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।









प्रतिक्रिया