काठमाडौं, २९ पुस । मुटु रोग विशेषज्ञ डा. केशव बुढाथोकीले हृदय रोगलाई विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीको रूपमा वर्णन गर्दै यसबाट जोगिन जीवनशैलीमा परिवर्तन अनिवार्य रहेको बताउनुभएको छ । हाल हेम्स अस्पतालमा कार्यरत डा. बुढाथोकीका अनुसार मुटु तथा मुटुबाट रगत प्रवाह गर्ने नली र तिनलाई घेरेका झिल्लीहरूमा समस्या देखिएमा त्यसलाई हृदय रोग भनिन्छ ।
उहाँका अनुसार हृदय रोग अहिले विश्वभर नम्बर–वन किलर का रूपमा चिनिएको छ । सन् २०२२ को विश्वव्यापी सर्वेक्षणअनुसार करिब १ करोड ९८ लाख मानिसको मृत्यु कार्डियोभास्कुलर रोगका कारण भएको उहाँले उल्लेख गर्नुभयो । डा. बुढाथोकीका अनुसार नेपालजस्तो विकासशील देशमा समेत मुटु रोगको जोखिम तीव्र गतिमा बढिरहेको छ ।
यसको प्रमुख कारणमा सिडेन्टरी लाइफस्टाइल, तनावपूर्ण कामकाजी वातावरण, शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान, धूम्रपान र मद्यपान रहेका छन् । “मुटुको रोगले धेरैजसो समय दिँदैन, विशेषगरी हार्ट अट्याकका घटनामा करिब १० प्रतिशत बिरामी अस्पताल नपुग्दै मृत्यु हुने तथ्यांक छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार केही मुटु रोगहरू वंशाणुगत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छन्, जसले गर्दा सडेन कार्डियाक डेथ को जोखिमसमेत बढ्ने गरेको छ । हार्ट ब्लक, भल्भसम्बन्धी समस्या, हाइपरट्रोफिक कार्डियोमायोप्याथी (HCM) जस्ता रोगहरू यसका उदाहरण हुन् ।
डा. बुढाथोकीले हृदय रोगलाई मुख्यतः पाँच भागमा वर्गीकरण गर्न सकिने बताउनुभयो । जन्मजात संरचनात्मक समस्या, कोरोनरी आर्टरी डिजिज (हार्ट अट्याक), मुटुको इलेक्ट्रिकल सिस्टममा गडबडी, संक्रमण वा सुन्निने कारणले हुने रोग तथा भल्भसम्बन्धी रोग र अन्ततः हार्ट फेलियर प्रमुख प्रकार हुन् ।
उहाँका अनुसार हृदय रोगका जोखिम कारक दुई प्रकारका हुन्छन्—परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने । मोटोपना, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, व्यायामको कमी जस्ता कारण परिवर्तन गर्न सकिने जोखिम हुन् भने उमेर, लिङ्ग, वंशाणुगत कारण र जातीय पृष्ठभूमि परिवर्तन गर्न नसकिने कारक हुन् ।
विशेषगरी दक्षिण एशियाली समुदायमा मुटु रोगको जोखिम बढी देखिने उहाले बताउनुभयो । मुटु रोग पत्ता लगाउन ब्लड टेस्ट, इसिजी, इकोकार्डियोग्राफी, ट्रेडमिल टेस्ट, होल्टर मनिटरिङ, सिटी एन्जियोग्राफी, कन्भेन्सनल एन्जियोग्राफी तथा कार्डियक एमआरआईजस्ता परीक्षण उपलब्ध रहेको डा. बुढाथोकीले जानकारी दिनुभयो । बिरामीका लक्षणका आधारमा कुन परीक्षण आवश्यक पर्छ भन्ने चिकित्सकले नै निर्धारण गर्ने उहाँले बताउनुभयो।
अन्त्यमा उहाँले मुटु रोगबाट बच्न स्वस्थ खानपान, तौल नियन्त्रण, धूम्रपान तथा मद्यपान त्याग, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन अत्यावश्यक रहेको बताउनुभयो । “सबै जोखिम हटाउन नसकिए पनि जीवनशैली सुधार गरेर हृदय रोगको सम्भावना धेरै हदसम्म घटाउन सकिन्छ,” उहाँले जोड दिनुभयो ।









प्रतिक्रिया