भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ लाई मुद्दा, रमेश लेखक परेनन्

काठमाडौं, २५ मंसिर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यद्यपि यस मुद्दामा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भने मुद्दा चलाइएको छैन।

अख्तियारले सहसचिव भट्टराई र अन्य ६ विरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो। त्यस्तै दुई कम्पनीलाई पनि विपक्षी बनाइएको छ।विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार उक्त प्रकरणमा ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको हो। त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ।अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार तत्कालीन सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीबिरुद्ध मुद्दा चलाइएको हो। अख्तियारले २०८१ चैत ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालीन सहसचिव भट्टराईलाई कार्यस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १८ : २०  बजे