फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण बनाउन मुख्यमन्त्री थापाको जोड

काठमाडौं, २४ असोज । फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठको शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार काठमाडौंको कोटेश्वरस्थित होटल एवान भेन्युमा सम्पन्न भएको छ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसाय उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले आर्थिक गतिविधि विस्तार, सीप विकास र स्वरोजगार प्रवर्द्धनमा यस क्षेत्रले योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

मुख्यमन्त्री थापाले व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच संवाद तथा सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले व्यवसायीहरूलाई आफ्ना समस्या र कठिनाइ सरकारसमक्ष राख्न आग्रह गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “जनताका समस्या र व्यवसायीका वास्तविक कठिनाइहरू लिएर सरकारलाई सम्झनुहोस्। समस्या समाधानका लागि सरकारसँग संवाद र सहकार्य गर्नुहोस्।”

कार्यक्रममा होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायीले भोगिरहेका समस्या, चुनौती र सम्भावनाबारे छलफल भएको थियो। व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन खाद्य स्वच्छता, सेवा गुणस्तर, व्यावसायिक सीप विकास तथा व्यवसायीबीच एकता आवश्यक रहेकोमा सहभागीहरूले जोड दिनुभयो।

कार्यक्रममा गोर्खा ब्रुअरीका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर काजिमान सुब्बा, होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्य, हाउस अफ राजकर्णिकारका कार्यकारी निर्देशक मिनुराज कर्णिकार, जनता टाइम्सका अध्यक्ष गणेश बस्नेतलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यसैगरी एसोसिएसनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष ताराराम श्रेष्ठ, पूर्वअध्यक्षहरू, सल्लाहकार, पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला तथा स्थानीय समितिका अध्यक्ष र आबद्ध होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायीहरूको सहभागिता थियो।

एसोसिएसनका महासचिव राकेश श्रेष्ठका अनुसार कार्यक्रमले व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र एकता सुदृढ गर्नुका साथै नेपाली चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्ने अवसर प्रदान गरेको छ।

फास्ट फुड एसोसिएसन नेपालले खाद्य स्वच्छता, सेवा गुणस्तर, व्यावसायिक सीप विकास तथा व्यवसायीको हकहित संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  १९ : २८  बजे