सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद

सुर्खेत, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार चौकुने गाउँपालिकाका दुई स्थान र बराहताल गाउँपालिकाको एक स्थानबाट ती बन्दुक बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।

त्यस्तै, अस्थायी प्रहरी चौकी लगामसहितको टोलीले चौकुने गाउँपालिका–१ स्थित धामिसेनको जंगलबाट १२ नाल र प्रहरी चौकी रानीघाटको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरेको जंगलबाट एक नाल बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दा जंगलमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने खुलेको छैन। प्रहरीले हतियारको स्रोत तथा घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  ०९ : १०  बजे