गणतन्त्र सुदृढीकरणका लागि सक्रिय राजनीतिमा फर्किएँ : विद्या भण्डारी

काठमाडौं,२३ असोज । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले संविधान र गणतन्त्रको सुदृढीकरणमा योगदान गर्न आफू सक्रिय राजनीतिमा फर्किएको बताउनुभएको छ।

एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै भण्डारीले लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको हो।

एमाले सचिव पद्मा अर्यालका अनुसार भण्डारीले ११ वर्षपछि पार्टी जीवनमा फर्किएको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाउन योगदान गर्ने उद्देश्य रहेको बताउनुभएको थियो।

उहाँले गणतन्त्रलगायत राजनीतिक उपलब्धिको रक्षाका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा पनि राख्नुभएको थियो।

स्थायी कमिटी सदस्य लालबाबु पण्डितका अनुसार बैठकमा भण्डारीसहित अन्य नेताहरूले समसामयिक विषयमा धारणा राखेका थिए। पण्डितले राष्ट्रिय संकटको सामना गर्न पार्टीभित्र आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

बैठकमा एमाले अध्यक्षमा पराजित ईश्वर पोखरेल पनि सहभागी हुनुभएको थियो। केन्द्रीय कमिटीमा मनोनयन र पोलिटब्युरो गठनलगायत विषयमा भने शनिबार मात्रै निर्णय हुने एक नेताले जानकारी दिएका छन्।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  २१ : ०२  बजे