रोल्पाका संस्थापक सभापति रमेश थापाले छाडे रास्वपा

काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रोल्पाका संस्थापक तथा निवर्तमान जिल्ला सभापति रमेश थापाले पार्टी छाड्नुभएको छ।

इन्जिनियरसमेत रहनुभएका थापाले सामाजिक सञ्जालमार्फत आफू स्वतन्त्र रहेको घोषणा गर्नुभएको हो। पार्टीको केन्द्रीय सदस्यमा नपरेपछि उहाँले राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको जनाइएको छ।

रोल्पामा पार्टी स्थापना र संगठन विस्तारको सुरुवाती चरणदेखि सक्रिय थापाले प्रदेश पदाधिकारी तथा केन्द्रीय समितिमा जिम्मेवारी पाउने आकांक्षा राख्नुभएको थियो। तर, अपेक्षित जिम्मेवारी नपाएपछि उहाँ असन्तुष्ट रहनुभएको बताइएको छ।

कठिन परिस्थितिमा रोल्पामा पार्टी संगठन निर्माणमा योगदान गर्नुभएका थापाले गत निर्वाचनमा रास्वपालाई जिल्लामा दोस्रो स्थानमा पुर्‍याउन भूमिका खेल्नुभएको थियो।

थापाले पार्टी छाडेपछि रोल्पामा संगठन निर्माणमा उहाँको योगदान र पार्टीको नेतृत्व छनोट प्रक्रियाबारे चर्चा सुरु भएको छ। यसैबीच, रास्वपाले रोल्पामा संगठनात्मक गतिविधि अघि बढाउन पूर्वप्रहरी अधिकारी विक्रमसिंह थापालाई पठाएको जनाइएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  २० : ५०  बजे